काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बुधबार बैंकिङ्ग प्रणालीबाट थप ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने तयारी गरेको छ। राष्ट्र बैंकले चार दिने निक्षेप संकलन उपकरण (Deposit Collection Facility) मार्फत यो रकम खिच्ने भएको हो।
केन्द्रीय बैंकका अनुसार, दिउँसो ३ बजे अनलाइन बोलकबोल हुनेछ, जसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्। निक्षेपको सावाँ तथा ब्याज असोज १२ गते भुक्तानी हुनेछ। बोलकबोलबाट नै ब्याज दर निर्धारण गरिने छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको भागमा बोलकबोल गर्न सक्नेछन्, जसमा बाँकी रकम कुल आह्वान रकमसम्म बाँडिने व्यवस्था छ।






