काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने तयारी गरेको छ। केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि अल्पकालीन उपकरण अन्तर्गत ४ दिनका लागि उक्त रकम संकलन गर्न लागेको हो।

पछिल्लो समय राष्ट्र बैंकले तरलता व्यवस्थापनका उद्देश्यले नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा संकलन गर्दै आएको छ। सोही अनुसार आज पनि निक्षेप संकलन कार्य अघि बढाइने भएको हो।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६७ खर्ब बढी तरलता प्रशोचन

राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडिङ प्रणालीमार्फत आज दिउँसो ३ बजेदेखि आवेदन दिन सक्नेछन्। न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँका गुणकमा आवेदन दिन सकिने छ।

साँवा र ब्याजको भुक्तानी कात्तिक २ गते हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलनमा राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन्।