काठमाडौँ । डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेका उद्योगहरूले लामो समयदेखि बाँकी रहेको प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेका छन्।

प्राधिकरणका अनुसार सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिर्न पुनः सुरुवात गरेका हुन्। यी उद्योगहरूले विगतमा किस्ताबन्दीको सुविधा लिएर रकम तिर्न थालेका थिए, तर गत वैशाखदेखि किस्ता तिर्न छाडेका थिए।

प्राधिकरणका तथ्यांकअनुसार, सम्राट सिमेन्टले २०७२ माघदेखि २०७५ वैशाखसम्मको तीन करोड ७७ लाख रुपैयाँ बक्यौता रकमलाई प्रतिकिस्ता १३ लाख ४९ हजार १ रुपैयाँका दरले २८ किस्तामा बुझाउने स्वीकृति लिएको थियो। उद्योगले सुरुमा चार किस्ता बुझाएपछि रोकिएको किस्ता हाल एकैपल्ट तीन किस्ता बराबर ४० लाख ४७ हजार रुपैयाँ बुझाएर जेठसम्मको किस्ता चुक्ता गरेको छ।

कम्पनीले गत असारदेखि असोजसम्म बुझाउनुपर्ने ११ किस्तामध्ये सात किस्ता मात्र बुझाएको र बाँकी ५३ लाख ९६ हजार रुपैयाँ भुक्तानीका लागि प्राधिकरणले पत्राचार गरेको जनाएको छ। त्यस्तै, रोल्पा सिमेन्टले ९९ लाख १२ हजार रुपैयाँ बक्यौतालाई प्रतिकिस्ता तीन लाख ५४ हजार रुपैयाँका दरले २८ किस्तामा बुझाउने स्वीकृति लिएको थियो।

उद्योगले प्रारम्भिक रूपमा छ किस्ता बुझाएपछि रोकिएको रकमबाट हाल पाँच किस्ताको १७ लाख ७० हजार रुपैयाँ एकैपल्ट तिरी पुनः नियमित किस्ता तिर्न थालेको हो। अब पनि उद्योगका १७ किस्ता बाँकी रहेका छन्। यसैबीच, नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले १२ किस्ताको एक लाख २३ हजार रुपैयाँ भुक्तानी गर्दै आफ्नो बक्यौता रकम पूर्ण रूपमा चुक्ता गरेको प्राधिकरणले जनाएको छ।