काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अर्थात् कात्तिक २३ गते ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार यो निक्षेप ८४ दिन अवधिको हुनेछ।
राष्ट्र बैंकले उक्त बोलकबोल प्रक्रिया आज मध्यान्ह २ः०० बजेसम्म अनलाइन माध्यमबाट सञ्चालन गर्ने जनाएको छ। यस निक्षेपको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ। साथै, मूलधन तथा ब्याज भुक्तानी आगामी २०८२ माघ १८ गते हुनेछ।
केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम रकम ५ करोडको गुणकमा भाग जाँदा बाँकी नपर्ने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलनका लागि हुने बोलकबोल ब्याजदरकै आधारमा गर्नुपर्नेछ। सहभागी संस्थाहरूले आवश्यक परे बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले निक्षेप संकलनका लागि आह्वान गरिएको ३० अर्ब रुपैयाँको रकम बाँडफाँड गर्दा प्राप्त बोलकबोलहरूमध्ये सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिँदै क्रमशः आवश्यक रकम पूरा नहुन्जेलसम्म वितरण गर्ने जनाएको छ।






