काठमाडौं – नेपालबाट मासु तथा मासुजन्य वस्तुको निर्यात सम्भावना बढ्दै गएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले व्यवस्थित उत्पादन र गुणस्तर सुनिश्चितता लक्षित गर्दै ‘राँगा वा भैंसी प्रवद्र्धन कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८२’ तयार पारेको छ।

मन्त्रालयका अनुसार नयाँ कार्यविधिले गुणस्तरीय र स्वास्थ्य मापदण्ड पूरा गर्ने राँगा तथा भैंसीको उत्पादन, प्रशोधन र निर्यातलाई प्रोत्साहन गर्नेछ। यसमार्फत किसानलाई उच्च उत्पादकता भएका जातको प्रवद्र्धन, वैज्ञानिक व्यवस्थापन, भन्सार तथा स्वास्थ्य परीक्षणमा सहजता, र निर्यात बजार अभिमुखी कार्यक्रममार्फत आर्थिक वृद्धिमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।

कार्यविधिमा पशु कल्याणको संरक्षण, एन्टीबायोटिकरहित उत्पादन प्रणाली, किसानलाई प्रोत्साहन, र निजी क्षेत्रको लगानी आकर्षण जस्ता नीतिगत प्रावधानहरू समावेश छन्। मन्त्रालयले आगामी दिनमा मासु निर्यात अभिवृद्धिका लागि आवश्यक पूर्वाधार निर्माण, भौतिक तथा प्रयोगशाला स्तरीकरण, र अन्तर्राष्ट्रिय बजार पहिचानमा पनि सक्रियता बढाउने तयारी गरेको जनाएको छ।

सरकारले मासु तथा पशुपालन क्षेत्रलाई कृषिमा आधारित अर्थतन्त्रको अभिन्न अंग मानेको छ। मन्त्रालयको विश्वास छ—कार्यविधि प्रभावकारी रूपमा कार्यान्वयनमा आएमा ग्रामीण क्षेत्रमा रोजगारी सृजनासँगै पशुपालन व्यवसायमा आकर्षण बढ्ने, विदेशी मुद्रा आर्जन विस्तार हुने र राष्ट्रिय आर्थिक वृद्धिमा प्रत्यक्ष टेवा पुग्नेछ।