काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डको आज बसेको बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो।
बोर्डका अनुसार यस वर्षको पूरक परीक्षामा ७३ दशमलव ४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। कुल १ लाख ४ हजार २६ जना मध्ये ७६ हजार ३ सय ६७ जना विद्यार्थीले परीक्षा उत्तीर्ण गरेका हुन्।
गत असोज ७ र ८ गते देशभर एकैसाथ परीक्षा सञ्चालन गरिएको थियो। यसअघि गत साउन ११ गते सार्वजनिक गरिएको नियमित नतिजामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए। नियमित परीक्षामा ३ लाख ९० हजार ८ सय ४७ जना विद्यार्थी सहभागी भएका थिए, जसमा १ लाख ९६ हजार ९१४ जना छात्रा र १ लाख ९३ हजार ९३३ जना छात्र थिए।
नियमित परीक्षा वैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालन गरिएको थियो।
विद्यार्थीहरूले आफ्नो नतिजा हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np
वा neb.gov.np मा गई हेर्न सक्नेछन्। त्यसैगरी नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np
बाट पनि नतिजा उपलब्ध छ।







