काठमाडौं । वित्तीय प्रणालीमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँसम्म निक्षेप तान्ने भएको छ। बुधबार प्रकाशित सूचनाअनुसार राष्ट्र बैंकले यो कार्य निक्षेप संकलन उपकरण अन्तर्गत बोलकबोल प्रणाली मार्फत गर्ने तयारी गरेको हो।

हाल देशभरका बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा निक्षेप ७४ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। तरलता बढ्दै गएपछि बैंकहरूबीचको प्रतिस्पर्धा घट्दै र ब्याजदर पनि स्थिर रहँदा, केन्द्रीय बैंकले यस्तो कदम चालेको हो।

राष्ट्र बैंकले बजारमा बढ्दो तरलता नियन्त्रण र ब्याजदरको सन्तुलन कायम गर्न समय–समयमा निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत रकम तान्ने गर्दै आएको छ। आजको बोलकबोलमा राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्। सहभागी संस्थाले प्रस्ताव गर्ने ब्याजदरअनुसार सबैभन्दा कम दरमा बोलकबोल गर्ने संस्थालाई प्राथमिकता दिइने राष्ट्र बैंकले जनाएको छ।

यस उपकरणअन्तर्गत संकलित निक्षेपको सावाँ र ब्याज रकम आगामी २०८३ वैशाख २३ गते भुक्तानी गरिनेछ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि सुरु हुने र अधिकतम रकम ५ करोडको गुणनफलमा बढाउँदै कुल आह्वान रकमसम्म प्रतिस्पर्धा गर्न सकिने व्यवस्था गरिएको छ।