तारकेश्वर– सार्वजनिक सेवा प्रवर्द्धन तथा आर्थिक रूपमा कमजोर मुटुरोगी बिरामीलाई सहयोग पुर्याउने उद्देश्यले तारकेश्वर नगरपालिका र शहीद गंगालाल हृदय केन्द्रबीच मंगलबार औपचारिक सम्झौता भएको छ।
आ.व. २०८२/८३ बाट नगरभित्र स्थायी बसोबास गर्ने मुटुरोग सम्बन्धी बिरामीहरूले अब नगरपालिकाबाट औषधि तथा उपचारका लागि अधिकतम रु. ५०,००० (पचास हजार) बराबरको आर्थिक सहयोग पाउने भएका छन्।
नगर प्रमुख कृष्ण हरि महर्जन तथा शहीद गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. रवि मल्लले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। स्वास्थ्य शाखाको समन्वयमा सम्पन्न कार्यक्रमका क्रममा सम्बन्धित बिरामीले आवश्यक कागजात सहित नगरपालिकाबाट सिफारिस प्राप्त गरेपछि केन्द्रमा उपचारका क्रममा सो सुविधा उपभोग गर्न सक्ने छन्।
यससँगै, नेपाल सरकारले उपलब्ध गराउने रु. १,००,०००/- (एक लाख) तथा प्रदेश सरकारले प्रदान गर्ने रु. ५०,०००/- (पचास हजार) सहित बिरामीहरूले अब कूल रु. २,००,०००/- (दुई लाख) सम्मको आर्थिक सहयोग प्राप्त गर्नेछन्। नगरपालिकाले मुटुरोग उपचारलाई थप सुलभ र पहुँचयोग्य बनाउन यो सम्झौता महत्वपूर्ण कदम भएको जनाएको छ।







