काठमाडौँ। बैंक तथा वित्तीय संस्थाबाट हुने लगानी विस्तार हुन नसक्दा पछिल्ला दुई वर्षयता बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिँदै आएको छ। कर्जा विस्तार सुस्त हुँदा व्यवस्थापन गर्न नसकिएको यो तरलता अब बैंक तथा वित्तीय संस्थामै ‘ओभरफ्लो’ हुन थालेपछि नेपाल राष्ट्र बैंक पुनः ठूलो परिमाणमा निक्षेप संकलन गर्न लागेको हो।

नेपाल राष्ट्र बैंकका अनुसार आज (कात्तिक ३० गते) ८४ दिनको अवधिका लागि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन प्रक्रिया सुरु गरिनेछ। निक्षेप संकलनमा लाग्न इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले बोलकबोल (बिडिङ) मार्फत प्रस्ताव पेश गर्नुपर्नेछ।

यस निक्षेपको ब्याजदर पनि यही बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिनेछ। राष्ट्र बैंकले संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज २०८२ माघ २५ गते भुक्तानी गरिने जनाएको छ। बिडिङका सम्बन्धमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ अर्ब रुपैयाँ सम्म बोलकबोल गर्न सक्ने व्यवस्था गरेको छ।

प्राप्त बोलकबोलहरूमध्ये सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिँदै क्रमशः आह्वान गरिएको कुल रकम भर्नेसम्म निक्षेप बाँडफाँड गरिनेछ। बैंकिङ प्रणालीमा थुप्रिएको उच्च तरलता कम गर्न तथा मौद्रिक सन्तुलन कायम राख्न राष्ट्र बैंकले आवश्यकता अनुसार यस्ता निक्षेप संकलन तथा तरलता व्यवस्थापनका उपकरण सक्रिय रूपमा प्रयोग गर्दै आएको छ।