काठमाडौं । बैंकिङ प्रणालीमा थुप्रिएको अत्यधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।
कर्जा प्रवाह सुस्त हुँदा बैंकहरूमा निष्क्रिय रूपमा बसेको तरलता हटाउन केन्द्रीय बैंकले आज (मंसिर ७ गते) ८६ दिनका लागि निक्षेप संकलन गर्ने भएको हो । यसका लागि बैंक तथा वित्तीय संस्थालाई अनलाइनमार्फत प्रस्ताव पेस गर्न आह्वान गरिएको छ।
बोलकबोल प्रक्रिया आज दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। निक्षेपमा लाग्ने ब्याजदर बोलकबोलकै आधारमा निर्धारण हुने जनाइएको छ। संकलित निक्षेपको साँवा तथा ब्याज फागुन ५ गते भुक्तानी गरिनेछ।
बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा कुल आह्वान रकम ५० अर्ब रुपैयाँलाई ५ करोडले भाग गर्दा निःशेष भाग जाने सीमा भित्र प्रस्ताव पेश गर्न सक्नेछन्।
निक्षेप बाँडफाँड गर्दा पेस भएका बोलमध्ये सबैभन्दा कम ब्याजदर प्रस्तावलाई प्राथमिकता दिइने, त्यसपछि क्रमैसँग आह्वान गरिएको कुल रकम पूरा हुने गरी बाँडफाँड हुने केन्द्रीय बैंकले स्पष्ट पारेको छ।






