काठमाडौं । बैंकिङ प्रणालीमा तरलता बढ्दै जाँदा नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ३५ दिन अवधि हुने गरी उक्त निक्षेप संकलन गर्न लागेको हो।

यसका लागि बैंक तथा वित्तीय संस्थाहरूले आज मध्यान्ह २ बजेसम्म अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन्। निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियामार्फत नै निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी पुस २० गते हुनेछ।

बोलकबोलमा सहभागी संस्थाहरूले घटीमा १० करोड रुपैयाँ तथा बढीमा ५ करोडले भाग जाँदा निःशेष भाग आउने गरी तोकिएको सीमासम्म प्रस्ताव पेस गर्न सक्नेछन्। राष्ट्र बैंकले निक्षेप संकलनमा बहुब्याजदर प्रस्ताव स्वीकृत हुने बताउँदै आवश्यक परे बहुबोलकबोल गर्न सकिने स्पष्ट गरेको छ।

बाँडफाँडका क्रममा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र सोही क्रममा आह्वान गरिएको रकम पूरा नहुँदासम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकको यो कदमले बजारमा बढ्दै गएको तरलता व्यवस्थापनमा सन्तुलन ल्याउने अपेक्षा गरिएको छ।