काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने अन्तिम तयारी गर्दै आएको छ। सामान्यतः शुक्रवार नै समीक्षा सार्वजनिक गर्दै आएको राष्ट्र बैंकले यस पटक भने प्राविधिक कारणले ढिलाइ भएको बताएको छ। केन्द्रीय बैंकका एक उच्च अधिकारीका अनुसार, प्राविधिक प्रक्रिया सकिएमा समीक्षा आज साँझभित्र पनि सार्वजनिक हुन सक्ने अन्यथा भोलिसम्म निश्चित रूपमा बाहिरिने जनाएका छन् ।
तर, राष्ट्र बैंकका उपप्रवक्ता तथा सूचना अधिकारी सुमन न्यौपानेले भने आज बिहान व्यवस्थापन बैठक बसे तापनि समीक्षा आजै सार्वजनिक हुने–नहुने बारे कुनै स्पष्टता नभएको बताए। उनका अनुसार, बोर्ड बैठक बस्न बाँकी हुनु र प्राविधिक तयारी पूर्ण नहुनुका कारण आइतबार नै सार्वजनिक हुने सम्भावना न्यून देखिएको आर्थिक भ्वाइसलाई जानकारी दिएका छन्।
मौद्रिक नीतिको यो त्रैमासिक समीक्षाप्रति बैंकिङ क्षेत्रदेखि पुँजी बजारसम्म उच्च अपेक्षा रहेको छ। बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले लामो समयदेखि बैंकिङ च्यानलमा अत्यधिक तरलता थुप्रिएको भन्दै, समीक्षा मार्फत लगानी विस्तारलाई प्रोत्साहन दिने ‘व्यावहारिक नीति’ आउने आशा व्यक्त गरेका छन्। सोही क्रममा सेयर बजारका लगानीकर्ताहरूले पनि बजारमैत्री निर्णय आउने अपेक्षा गर्दै आएका छन्।
राष्ट्र बैंकका सञ्चालक समिति सदस्य चिन्तामणि सिवाकोटीले पनि समीक्षा अब ‘अन्तिम चरणमा’ पुगेको बताए। उनका अनुसार, अर्थतन्त्र चलायमान राख्न रियल–एस्टेट, सेयर लगायतका क्षेत्रमा केही हदसम्म उदार नीतिको आवश्यकता छ। “बैंक तथा वित्तीय संस्थामा अत्यधिक रकम थुप्रिएको धारणा राखेका छन्,” सिवाकोटीले समीक्षाले पहिलो प्राथमिकतामा थुप्रिएको रकम कसरी चलायमान बनाउने, तरलता कसरी सन्तुलन गर्ने र कर्जा विस्तारलाई कसरी सहज बनाउने भन्ने स्पष्ट नीति ल्याउनुपर्ने जनाएका छन्।
उनका अनुसार, आर्थिक गतिविधि पुनः गतिशील बनाउने गरी नीतिगत दिशा नदिने हो भने बैंकिङ प्रणालीमा थुप्रिएको निष्क्रिय रकमले अर्थतन्त्रमै दबाब बढाउने जोखिम रहन्छ। मौद्रिक नीतिको समीक्षा कहिले सार्वजनिक हुन्छ भन्ने अनिश्चितता कायम भए पनि बजार, बैंक र लगानीकर्ताको नजर भने आज राष्ट्र बैंकतिर रहेको भन्दै अपेक्षाकृत मौद्रिक नीति आउनुपर्ने धारणा राखेका छन्।







