काठमाण्डौ। बैंकिङ प्रणालीमा बढ्दो तरलता नियन्त्रण तथा वित्तीय बजारमा स्थिरता कायम राख्ने उद्देश्यसहित नेपाल राष्ट्र बैंकले आज ९० अर्ब रुपैयाँ बराबरको तरलता संकलन गर्न लागेको छ। केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरण निक्षेप संकलन मार्फत ८४ दिन अवधि कायम रहने गरी उक्त रकम झिक्ने तयारी गरेको छ।
हालका दिनमा तरलता व्यवस्थापनलाई सहज बनाउन राष्ट्र बैंकले आइतबार तथा बुधबार नियमित रूपमा बजारबाट रकम संकलन गर्ने क्रममा आज पनि सोही प्रक्रिया दोहोर्याउन लागेको हो। अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेदेखि बोलकबोलमा भाग लिन सकिने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप संकलनमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम सीमा कुल आह्वान रकममा पाँच करोडको गुणक पर्ने गरी आवेदन पेश गर्न सक्नेछन्। यस निक्षेपको साँवा तथा ब्याज फागुन १७ गते भुक्तानी गरिनेछ। यो प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन पाउने व्यवस्था छ।






