काठमाडौँ। संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई कालो मसी छर्केर दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ। नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालमाथि अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको हो।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ५–६ जनाको समूहमा आएका व्यक्तिहरूले उपकुलपति नेपालमाथि मसी प्रहार गरेका थिए। उनी बसोबास गर्दै आएको क्वाटरमै पुगेर उक्त कार्य गरिएको डीएसपी चक्र शाहले जानकारी दिए।

घटनापछि जिल्ला प्रहरी प्रमुख दीपक श्रेष्ठ र डीएसपी शाहसहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। डीएसपी शाहका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ भने संलग्न व्यक्तिहरूको खोजी तथा पक्राउका लागि प्रहरी परिचालन भइसकेको छ।

दैलेखको दुल्लु नगरपालिका स्थायी घर भएका उपकुलपति नेपाल वाल्मिकी विद्यापीठमा ज्योतिषशास्त्र विषय अध्यापन गर्दै आएका छन्। उनी यसअघि नेपाल संस्कृत विश्वविद्यालयमा परीक्षा नियन्त्रकको जिम्मेवारीमा पनि कार्यरत थिए।

प्रा.डा. नेपाल नेपाल ज्योतिष परिषद्का वरिष्ठ सल्लाहकारसमेत हुन् भने हाल वाल्मिकी विद्यापीठको ज्योतिष विभाग प्रमुखको जिम्मेवारी समेत उनले सम्हाल्दै आएका छन्।