काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न पुनः २० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले बुधबार २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गरिसकेको छ भने आज फेरि २० अर्ब रुपैयाँको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको हो। राष्ट्र बैंकका अनुसार बोलकबोल आज दिउँसो २ बजे हुनेछ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार १२ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्न लागिएको हो। यसअन्तर्गत संकलित निक्षेपको साँवा तथा ब्याज पुस २५ गते भुक्तानी गरिनेछ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। उक्त उपकरण राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोको रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको कुल रकमसम्म ५ करोड रुपैयाँका गुणनफलमा बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलन बोलकबोल ब्याजदरमा आधारित हुनेछ भने बहुब्याजदरमा समेत बहुबोलकबोल गर्न सकिनेछ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। पुस महिना सुरु भएसँगै केन्द्रीय बैंकले चौथोपटक तरलता प्रशोचन गर्न लागेको हो।