काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ घ’ शीर्षकको ऋणपत्र जारी गर्न लागेको हो ।
उक्त ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ । राष्ट्र बैंकका अनुसार आज मध्याह्न २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ । बोलकबोलका आधारमा ऋणपत्रको ब्याजदर निर्धारण गरिनेछ ।
यो एक वर्षे अवधिको ऋणपत्र हो । ऋणपत्रको साँव रकम २०८३ पुस २२ गते भुक्तानी गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था गरिएको छ ।
यस ऋणपत्रका लागि न्यूनतम ५ करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको कुल रकमसम्म, ५ करोड रुपैयाँका दरले निःशेष भाग जाने गरी बोलपत्र पेस गर्न सकिनेछ । साथै, उक्त ऋणपत्र नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाहरूमा धितोका रूपमा प्रयोग गर्न सकिनेछ ।






