काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेको छ । स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना बापत पाउनुपर्ने रकम उपलब्ध नभएकाले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिनाइ भएको भन्दै अस्पताल प्रशासनले बीमा कार्यक्रम नै बन्द गरेको हो।
माघ १ गतेदेखि अर्को सूचना नआएसम्म बीमा कार्यक्रम बन्द रहने अस्पतालले जनाएको छ । यस अवधिमा स्वास्थ्य बीमा अन्तर्गतका सेवा उपलब्ध नहुने भएका हुन्।
कार्यक्रम स्थगित हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति अस्पताल प्रशासनले क्षमायाचना गरेको छ । बीमा बोर्डले भुक्तानी ढिलाइ गरेका कारण सेवा बन्द गर्नुपरेको केन्द्रका कार्यकारी निर्देशक डा. रवि मल्लले जानकारी दिए ।
अस्पतालले स्वास्थ्य बीमाबाट मात्र करिब १४ करोड लिन बाँकी छ । स्वास्थ्य बीमा कार्यक्रम चरम आर्थिक संकटमा परेको छ । बीमा बोर्डले भुक्तानी नदिएपछि ठूला अस्पतालहरू स्वास्थ्य बीमा कार्यक्रम नै बन्द गर्न थालेका छन् । बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई साढे १० अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ ।







