काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा उल्लेख्य नाफा वृद्धि गरेको छ। बैंकले यस अवधिमा ५३.९४ प्रतिशतले खुद नाफा बढाउँदै ३० करोड २५ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा १९ करोड ६५ लाख ६१ हजार रुपैयाँ रहेको थियो।
चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १८.४१ प्रतिशतले वृद्धि भई १ अर्ब ८ करोड ८० लाख ७२ हजार रुपैयाँ पुगेको छ। गत वर्षको पुस मसान्तसम्म बैंकले ९१ करोड ८२ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
यस्तै, दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ११.२९ प्रतिशतले बढेर १२ करोड ५३ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १९.४६ प्रतिशतले बढेर १ अर्ब २५ करोड ७२ लाख ८५ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ५९.३१ प्रतिशतले वृद्धि भई ४५ करोड १३ लाख १३ हजार रुपैयाँ कायम भएको छ।
पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ९ करोड ४६ लाख ६१ हजार रुपैयाँ रहेको छ। सो आधारमा बैंकको लाभांश क्षमता ५.०७ प्रतिशत देखिएको छ। गत वर्षको सोही अवधिमा भने बैंकको वितरणयोग्य नाफा २५ करोड २५ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ५ प्रतिशतले बढेर ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १ अर्ब ८९ करोड ३३ लाख २७ हजार रुपैयाँ संचित रहेको छ।
दोस्रो त्रैमाससम्ममा बैंकको निक्षेप संकलन ०.५० प्रतिशतले घटेर ५४ अर्ब ३९ करोड २४ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ भने कर्जा लगानी ३.६९ प्रतिशतले बढेर ४४ अर्ब ४० करोड ८३ लाख २३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५४ अर्ब ६६ करोड ८४ लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ८२ करोड ३८ लाख ९५ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो।
यस अवधिमा बैंकको खराब कर्जा (एनपीएल) बढेर ६.८७ प्रतिशत पुगेको छ, जुन गत वर्षको पुस मसान्तमा ४.९९ प्रतिशत रहेको थियो। यस्तै, बैंकको आधार दर ६.१७ प्रतिशत तथा कर्जा–निक्षेप अनुपात ८३.५५ प्रतिशत कायम रहेको छ।







