काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक (पुस मसान्तसम्मको) वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकले समीक्षा अवधिमा खुद घाटा बेहोरेको छ। बैंकले चालू आवको पुस मसान्तसम्म १ करोड ५४ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यद्यपि, बैंकको खुद ब्याज आम्दानीमा भने सुधार देखिएको छ। गत आवको पुस मसान्तसम्म ५ करोड ६६ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालू आवको सोही अवधिमा बढेर ५ करोड ८८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी पनि ६ करोड ४८ लाख रुपैयाँबाट बढेर ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ।
तर आम्दानीमा भएको यो वृद्धिलाई सञ्चालन खर्चको भारले दबाएको छ। बैंकले गत आवको पुस मसान्तसम्म सञ्चालन खर्च बापत ८ करोड १४ लाख रुपैयाँ खर्च गरेकोमा चालू आवको सोही अवधिमा सञ्चालन खर्च बढेर ८ करोड ३६ लाख रुपैयाँ पुगेको छ। उच्च सञ्चालन खर्चका कारण बैंकको सञ्चालन नाफा घाटामा परिणत भएको हो। समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ६ करोड ९५ लाख रुपैयाँबाट घटेर १ करोड ५५ लाख रुपैयाँ ऋणात्मक भएको छ।
यसै कारण बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ५० पैसा ऋणात्मक देखिएको छ, जुन सेयरधनीका लागि नकारात्मक संकेत मानिन्छ। सकारात्मक पक्षतर्फ हेर्दा, बैंकको निष्क्रिय कर्जा (एनपीएल) दरमा उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो आवको पुस मसान्तमा ९.०६ प्रतिशत रहेको निष्क्रिय कर्जा चालू आवको सोही अवधिमा घटेर ६.३९ प्रतिशतमा झरेको छ, जसले बैंकको कर्जा व्यवस्थापनमा सुधार आएको संकेत गर्छ।
बैंकको प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ १९ पैसा रहेको छ। हाल बैंकको चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ। तर बैंकको जगेडा कोष २२ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ, जसले बैंकको वित्तीय संरचनामा अझै चुनौती रहेको देखाउँछ। यद्यपि, रिजर्भ कोषमा भने १ करोड ९६ लाख रुपैयाँ सञ्चिति रहेको छ। पुस मसान्तसम्म बैंकले ३ अर्ब २५ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ५ अर्ब ६६ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेको वित्तीय विवरणमा उल्लेख छ।







