काठमाडौँ । भारत सरकारले नेपाललाई वित्त वर्ष २०२६/२७ का लागि ८ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ ।

आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु ८ अर्ब अनुदान दिने उल्लेख गरिएको हो ।

चालु वर्षमा भारतले नेपाललाई भारु ८ सय ३० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान गरेको । यसअघि सुरुमा भारतले ८ सय करोड अनुदान दिने घोषणा गरे पनि पछि संशोधन गरेर ८ सय ३० करोड पुर्‍याएको थियो ।

छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई अनुदान दिने बजेटमा उल्लेख छ । भुटानलाई भारतले २ हजार २ सय ८८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ ।

यो रकम यस आर्थिक वर्षको भन्दा बढी हो । यस आर्थिक वर्ष भारतले १ हजार ९ सय ५० करोड रुपैयाँ विनियोजन गरेको थियो ।