काठमाडौं। नेपालमा अधिकांश घरपरिवारलाई विद्युत् सेवा पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ अनुसार, देशभर ९६.७ प्रतिशत घरमा विद्युतीय सेवा उपलब्ध रहेको देखिएको छ।

प्रदेश अनुसार, गण्डकी प्रदेशमा सबैभन्दा बढी घरमा विद्युत् सेवा पुगेको छ। यहाँ करिब ९९.५ प्रतिशत घरपरिवारले निरन्तर विद्युत् सेवा पाउँदै आएका छन्।

कर्णाली प्रदेशमा सबैभन्दा कम, अर्थात् ८०.८ प्रतिशत घरमा मात्र विद्युत् पहुँच रहेको छ।

सहरी र ग्रामीण भेगबीच तुलना गर्दा, सहरमा ९८.२ प्रतिशत घरले निरन्तर विद्युत् सेवा पाएका छन् भने ग्रामीण भेगमा यो दर ९३.७ प्रतिशत देखिएको छ।

प्रदेश अनुसार कोशीमा ९७.२ प्रतिशत घरमा विद्युत् पुगेको छ। यसमा शहरी क्षेत्र ९८.८ प्रतिशत र ग्रामीण क्षेत्र ९७.२ प्रतिशत रहेको तथ्यांकले देखाउँछ। मधेसमा करिब ९८ प्रतिशत घरमा विद्युत् सेवा उपलब्ध छ।

काठमाडौं उपत्यकामा करिब शतप्रतिशत घरमा विद्युत् सेवा पुगेको देखिएको छ। तर, कर्णाली प्रदेशको ग्रामीण भेगमा मात्र ७४.८ प्रतिशत घरले सेवा पाएका छन् भने सुदूरपश्चिम प्रदेशमा यो दर ७८.२ प्रतिशत छ।

सर्वेक्षणले नेपालमा ९५.५ प्रतिशत घरपरिवारलाई टेलिफोन सुविधा (मोबाइल वा स्थिर टेलिफोन) पुगेको पनि देखाएको छ। यसमा बागमती प्रदेश सबैभन्दा अगाडि छ—९७.१ प्रतिशत घरमा टेलिफोन सुविधा पुगेको तथ्यांक छ। सबैभन्दा कम सेवा भने सुदूरपश्चिम प्रदेशमा ९२.६ प्रतिशत घरमा पुगेको देखिन्छ।

यस सर्वेक्षणका लागि नेपालभरि ५४० क्लस्टर चयन गरिएका थिए। सहरी क्षेत्रमा ३४० र ग्रामीण क्षेत्रमा २३६क्लस्टर चयन गरिएका थिए।  प्रत्येक क्लस्टरबाट २४ परिवार छानिएर तथ्यांक संकलन गरिएको थियो। यसरी कुल १२,९६० परिवारको विवरण संकलन गरी विश्लेषण गरिएको छ।