काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका–९ मा रहेको एक आवासीय घरभित्र चितुवा प्रवेश गरेको घटना सार्वजनिक भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले दिएको जानकारी अनुसार चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्।

घाइते हुनेमा दुलाल महर्जन र मायानाथ वाग्ले रहेका छन्। महर्जनलाई उपचारका लागि शुभम अस्पताल लगिएको छ भने वाग्लेलाई आर्मी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार महर्जनको टाउको र बायाँ हातमा सामान्य चोट लागेको छ भने वाग्लेको बायाँ हातमा चोट देखिएको छ। हाल चितुवालाई घरभित्रै सुरक्षित रूपमा नियन्त्रणमा राखिएको र वन कार्यालयको टोलीलाई खबर गरिएको एसपी भट्टराईले बताएका छन्।