काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मौन अवधि लागू भएसँगै राजधानीका दुई स्थानमा सवारी साधनमा आगजनी भएको घटना सार्वजनिक भएको छ। आज बिहान सुकेधारा र नैकाप क्षेत्रमा गाडीमा आगो लगाइएको हो।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईले घटनाको पुष्टि गरेका छन्। उनका अनुसार सुकेधारामा बा ७ च १४०१ नम्बर र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी गरिएको पाइएको छ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ३ बजेतिर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आगजनी गरिएका सवारी साधनभित्र दुर्गा प्रसाईं सम्बन्धी पर्चा भेटिएको जानकारी प्रहरीले दिएको छ।
‘करिब ३ बजेतिर घटना भएको देखिन्छ। गाडीभित्र प्रसाईंको पर्चा फेला परेको छ।’ प्रहरी उपरीक्षक भट्टराईले बताएका छन्। उनले सवारी धनीबाट औपचारिक जानकारी नआए पनि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको उल्लेख गरे।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई यसअघि फागुन १७ गते भक्तपुर जिल्ला प्रहरी कार्यालय ले भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। प्रशासनले उनलाई पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।







