काठमाडौं। अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणमा पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ। मानव अधिकार समूहका अनुसार यस अवधिमा ८५ सर्वसाधारण र ११ जना सैनिक मारिएका छन्।
मानव अधिकार कार्यकर्ताहरूको समाचार एजेन्सी (एचआरएएनए)ले सोमबार इरानमा संयुक्त अमेरिका–इजरायल आक्रमणपछि पछिल्लो २४ घण्टामा कम्तीमा ८५ जना सर्वसाधारण र ११ जना सैनिक गरी ९६ जनाको मृत्यु भएको जनाएको छ ।
सार्वजनिक गरिएको विवरणअनुसार फेब्रुअरी २८ देखि जारी आक्रमणमा हालसम्म कम्तीमा ७४२ जना सर्वसाधारणको मृत्यु भएको जनाइएको छ। यसमध्ये १७६ जना बालबालिका रहेका छन्। यसअघि इरानी रेड क्रिसेन्ट सोसाइटीले मृतकको संख्या ५५५ रहेको जानकारी दिएको थियो।
घटनास्थलमा विभिन्न स्थान र पूर्वाधारलाई लक्षित गरिएको थियो। आक्रमणमा केही सैन्य अड्डा, दुई आवासीय क्षेत्र र बन्दर अब्बासस्थित शाहिद बहोनार पियर समावेश रहेको मानव अधिकार समूहले जनाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले यी तथ्यांकहरू स्वतन्त्र रूपमा पुष्टि गर्न भने नसकिएको समाचारमा उल्लेख गरेको छ ।







