काठमाडौं। आज विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ। हरेक वर्ष मार्च ८ का दिन मनाइने यो दिवस महिलाको अधिकार, समानता र सशक्तीकरणका विषयमा सचेतना फैलाउने उद्देश्यका साथ विविध कार्यक्रम गरी मनाउने गरिन्छ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिलाको सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक क्षेत्रमा समान सहभागिता सुनिश्चित गर्नुपर्ने, सम्मानजनक श्रम र समान पारिश्रमिकको व्यवस्था हुनुपर्ने, न्यायमा समान पहुँच कायम गर्नुपर्ने तथा लैङ्गिक भेदभाव अन्त्य गर्नुपर्ने विषयमा जोड दिइन्छ। विश्वका विभिन्न देशहरूमा र्‍याली, अन्तरक्रिया, गोष्ठी तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ।

यस वर्षका लागि संयुक्त राष्ट्रसंघले ‘सबै महिला र बालिकाका लागि अधिकार, समानता र सशक्त कार्य’ भन्ने नारालाई प्राथमिकता दिएको छ। यो नाराले समाजमा विद्यमान संरचनागत अवरोध हटाउने, भेदभावपूर्ण कानुन अन्त्य गर्ने तथा महिला र बालिकाको अधिकार सुरक्षित गर्न कानुनी संरक्षणलाई अझ बलियो बनाउने सन्देश दिएको छ।

अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास सन् १९०८ देखि सुरु भएको मानिन्छ। उक्त वर्ष अमेरिकाको न्यूयोर्क सिटीमा करिब १५ हजार महिलाले काम गर्ने समय घटाउनुपर्ने, समान ज्याला दिनुपर्ने तथा मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने मागसहित विशाल र्‍याली गरेका थिए। त्यस आन्दोलनको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो पटक राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो।

यसलाई अन्तर्राष्ट्रिय रूपमा मनाउनुपर्ने अवधारणा जर्मन नारीवादी नेतृ क्लारा जेट्किनले अघि सारेकी थिइन्। सन् १९१० मा डेनमार्कको कोपनहेगनमा आयोजित कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने प्रस्ताव औपचारिक रूपमा प्रस्तुत गरिन्। उक्त सम्मेलनमा १७ देशका सयभन्दा बढी महिला नेतृहरूको सहभागिता थियो र जेट्किनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको थियो।

त्यसपछि सन् १९११ मा पहिलो पटक अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्यान्डमा औपचारिक रूपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालियो। क्रमशः अन्य देशहरूले पनि यस दिवसलाई अपनाउँदै गए र विश्वभर यसको महत्व बढ्दै गयो।

सन् १९१७ मा रुसमा महिलाहरूले ‘रोटी र शान्ति’ को माग गर्दै गरेको आन्दोलनले पनि महिला अधिकार आन्दोलनलाई थप उचाइमा पुर्‍याएको थियो। उक्त आन्दोलनपछि रुसका तत्कालीन सम्राट पद त्याग्न बाध्य भएका थिए र त्यहाँको अस्थायी सरकारले महिलालाई मतदानको अधिकार प्रदान गरेको थियो।

संयुक्त राष्ट्रसंघले सन् १९७५ देखि अन्तर्राष्ट्रिय महिला दिवस औपचारिक रूपमा मनाउन थालेपछि यसले विश्वव्यापी मान्यता प्राप्त गरेको हो। त्यसयता संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले विभिन्न कार्यक्रम आयोजना गर्दै हरेक वर्ष मार्च ८ मा यो दिवस मनाउँदै आएका छन्।