काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याएका छन्। बुधबार नागरिक लगानी कोष को ३६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बैंकिङ प्रणालीमा हाल ब्याजदर घटेको र पर्याप्त तरलता रहेको वर्तमान अवस्थालाई उत्पादनमुखी लगानीमा रूपान्तरण गर्न ढिला गर्न नहुने बताए।
अर्थमन्त्री खनालले अर्थतन्त्रलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन ठूला पूर्वाधार आयोजना अघि बढाउन अपरिहार्य रहेको बताएका छन् । विशेषगरी बूढीगण्डकी जलविद्युत् आयोजना जस्ता रणनीतिक परियोजनामा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमार्फत लगानी विस्तार गर्ने गरी प्रक्रिया अघि बढाइएको जानकारी दिए। निष्क्रिय पुँजीलाई उत्पादनशील क्षेत्रमा रूपान्तरण गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको उनको जोड थियो।
अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय परिप्रेक्ष्यतर्फ संकेत गर्दै मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वले नेपालको आपूर्ति शृङ्खलामा प्रभाव पार्न सक्ने र त्यसबाट मूल्यवृद्धि लगायतका चुनौती उत्पन्न हुनसक्ने चेतावनी दिए। यस्तो सम्भावित जोखिम व्यवस्थापनका लागि आगामी दिनमा नीतिगत तयारी र सतर्कता आवश्यक रहेको उनले उल्लेख गरे।
त्यस्तै, नेपाल वायुसेवा निगममा कोषबाट प्रवाहित कर्जाको असुलीबारे उनले सरकारको नीतिगत जमानीको आधारमा व्यवहारिक समाधान खोज्नुपर्ने बताए। लगानी गर्दा जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले अवकाश कोषहरूको सम्पत्ति–दायित्व सन्तुलनका लागि दीर्घकालीन ऋणपत्र (बन्ड) जारी गर्नुपर्ने आवश्यकता पनि औंल्याए।






