काठमाडौँ । बुद्धभूमि हाइड्रोपावर कम्पनी लिमिटेडले चैत २२ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले हालको ४० करोड रुपैयाँ चुक्ता पूँजीलाई आधार मानेर १:१ अनुपातमा हकप्रद सेयर ल्याउन लागेको हो। यसअनुसार प्रत्येक एक कित्ता सेयर बराबर एक नयाँ सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले ४० लाख कित्ता निष्कासन गरिनेछ।

यस हकप्रद सेयरमा माघ २९ गतेसम्म सेयरधनी कायम रहेका लगानीकर्ताहरूले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ। आवेदन प्रक्रिया चैत २२ गतेबाट सुरु भई वैशाख १३ गते बैंकिङ समयभित्रसम्म खुला रहनेछ।

कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले ‘आईआरएन डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ, जसले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ।

हाल ४० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पूँजी हकप्रद सेयर निष्कासनपछि बढेर ८० करोड रुपैयाँ पुग्नेछ। यस सेयर निष्कासनको बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले सम्हालेको छ।