काठमाडौं । आज चैत १४ गते बिहीबार नेको इन्सुरेन्सको हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ।
नेको इन्सुरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो। लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गरेको छ। जसअनुसार यसले १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो।
उक्त हकप्रद सेयरको लागि यसले माघ १८ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, त्यसभन्दा अघिसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन्। यसको हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ।
यस हकप्रदमा बिक्री प्रबन्धक सानिमा क्यापिटल नक्साल काठमाडौं र नेको इन्सुरेन्सको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ।







