काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ को सात महिनामा उच्च शिक्षाका लागि विदेशिने रकममा उल्लेखनीय रूपमा बृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, समीक्षा अवधिमा शिक्षातर्फ मात्र ६४ अर्ब १५ करोड रुपैयाँ बराबरको व्यय भएको छ।

यो व्यय सेवा खाताअन्तर्गत पर्ने भ्रमण खर्चभित्र समावेश गरिएको छ। समग्र भ्रमण व्यय भने १०.६ प्रतिशतले वृद्धि भई १ खर्ब १५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ, जसमा शिक्षाका लागि बाहिरिने रकम ठूलो हिस्साको रूपमा देखिएको छ।

तथापि, अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने शिक्षातर्फको खर्च केही घटेको देखिन्छ। गत वर्षको सात महिनामा शिक्षातर्फ ६६ अर्ब ६४ करोड रुपैयाँ बाहिरिएको थियो भने कुल भ्रमण व्यय १ खर्ब ४ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो।

यसैबीच, सेवा खाताको समग्र अवस्था अझै कमजोर देखिएको छ। समीक्षा अवधिमा खुद सेवा आय ५० अर्ब २२ करोड रुपैयाँले घाटामा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रहेको ३६ अर्ब ३८ करोड रुपैयाँ घाटा भन्दा उल्लेखनीय रूपमा बढी हो।

यता, सेवा खाताअन्तर्गतकै भ्रमण आयमा भने केही सुधार देखिएको छ। सात महिनामा भ्रमण आय ७.७ प्रतिशतले वृद्धि भई ४९ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४५ अर्ब ६८ करोड रुपैयाँ थियो।

उच्च शिक्षाका लागि ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिनु र सेवा खातामा बढ्दो घाटा नेपालको बाह्य क्षेत्र सन्तुलनका लागि चुनौतीपूर्ण संकेत  भएको जानकारहरूको भनाई छ। यद्यपि, भ्रमण आयमा भएको वृद्धिलाई भने सकारात्मक रूपमा लिन सकिने र  यसले पर्यटन क्षेत्र क्रमशः पुनरुत्थानतर्फ उन्मुख बनाउने उनीहरूको धारणा छ ।