काठमाडौँ। सेयर बजारमा बारम्बार सुनिने दुई महत्वपूर्ण शब्द हुन् : बुल (BULL) र बियर (BEAR)। यी शब्दहरू केवल सेयर बजारमा मात्र सीमित छैनन्, क्रिप्टोकरेन्सी, फोरेक्स, बन्डलगायत सम्पूर्ण वित्तीय बजारमा यी शब्दहरुको व्यापक रूपमा प्रयोग गरिन्छ।

सामान्य अर्थमा, बजार उकालो लाग्दा ‘बुल मार्केट’ र ओरालो झर्दा ‘बियर मार्केट’ भनिन्छ। तर यी दुई अवस्थाको अर्थ मूल्य घटबढमा मात्र सीमित छैन। यसले लगानीकर्ताको मनोविज्ञान, अर्थतन्त्रको अवस्था र जोखिमको स्तरसमेत आँकलन गर्न मदत गर्छ।

बुल र बियरको अर्थ के हो ?

बुल र बियरलाई बुझाउन प्रायः साँढे (बुल) र भालु (बियर)को व्यवहारसँग तुलना गरिन्छ। साँढेले आफ्नो सिङले माथितिर प्रहार गर्छ, जसले उकालोको संकेत गर्छ भने भालुले तलतिर प्रहार गर्छ, जसले ओरालोको संकेत दिन्छ। यही आधारमा बढ्दो बजारलाई बुल र घट्दो बजारलाई बियर भनिन्छ।

बुल मार्केटमा सेयर मूल्य निरन्तर बढिरहेको हुन्छ, लगानीकर्तामा आत्मविश्वास उच्च हुन्छ र अर्थतन्त्रप्रति सकारात्मक दृष्टिकोण रहन्छ। बियर मार्केटमा यसको ठीक विपरीत मूल्य घट्दो क्रममा हुन्छ, लगानीकर्तामा डर बढ्छ र समग्र आर्थिक वातावरण कमजोर देखिन्छ।

सामान्यतया बजार आफ्नो पछिल्लो न्यूनतम बिन्दुबाट २० प्रतिशतले बढेमा बुल मार्केट र उच्च बिन्दुबाट २० प्रतिशतभन्दा बढीले घटेमा बियर मार्केटको अवस्था मानिन्छ।

यस्ता छन् बुल मार्केटका विशेषता :

बुल मार्केट केवल मूल्य बढ्नु मात्र होइन, यो समग्र आर्थिक र मनोवैज्ञानिक अवस्थामा देखिएको उत्साह पनि हो। यसका मुख्य विशेषताहरू यसप्रकार छन् :

  • शेयर मूल्यमा निरन्तर वृद्धि : बुल मार्केटमा अधिकांश कम्पनीका शेयर मूल्य उकालो लाग्छन्। कुनै एक क्षेत्र मात्र नभई समग्र बजार नै बढ्ने प्रवृत्ति देखिन्छ।
  • लगानीकर्तामा आत्मविश्वास : बजारबाट मुनाफा हुने अपेक्षा उच्च हुन्छ। लगानीकर्ता जोखिम लिन पनि तयार हुन्छन्।
  • आर्थिक विस्तार र राम्रो आम्दानी : मार्केटमा कम्पनीहरूको नाफा बढिरहेको हुन्छ, बेरोजगारी दर कम हुन्छ र अर्थतन्त्र विस्तारको अवस्थामा हुन्छ।
  • लामो समयसम्म टिक्ने प्रवृत्ति : बुल मार्केट केही महिनादेखि वर्षौँसम्म पनि कायम रहन सक्छ।
  • मनोवैज्ञानिक विशेषता : ‘फियर एण्ड ग्रिड’ (डर र लोभ) जस्ता सूचकहरूले बजारमा लोभ बढेको संकेत दिन्छन्। बुल मार्केटमा लगानीकर्ताहरू ‘शेयर मूल्य अब झन् बढ्छ’ भन्ने मानसिकतामा हुन्छन्।

यस्ता छन् वियर मार्केटका विशेषता :

बियर मार्केटमा अवस्था बुल मार्केटको ठीक उल्टो हुन्छ । यसमा बजारमा निम्न प्रवृतिहरु देख्न पाइन्छ।

  • शेयर मूल्यमा गिरावट : लगातार मूल्य घट्दा लगानीकर्ताको सम्पत्ति घट्दै जान्छ।
  • निराशा र डरको माहोल : लगानीकर्ताहरू जोखिमबाट टाढा रहन खोज्छन् र घाटा सीमित गर्न शेयर बिक्री गर्छन्
  • आर्थिक मन्दीको संकेत : कम्पनीको आम्दानी घट्नु, बेरोजगारी बढ्नु र आर्थिक गतिविधि सुस्त हुनु बियर मार्केटका विशेषता हुन्।
  • रक्षात्मक रणनीति अपनाउने प्रवृत्ति : यसमा लगानीकर्ताहरू सुरक्षित लगानीतर्फ सर्छन् जस्तै सुनचाँदीमा लगानी गर्ने, घरजग्गा वा अन्य विकल्प खोज्ने गर्छन् वा बजारबाट बाहिरिन्छन्।

नेपालमा बुल मार्केटको इतिहास :

१. पहिलो बुल–May 1998 – Nov. 2000 
२. दोस्रो बुल– Apr. 2004 – Aug. 
३. तेस्रो बुल–Mar. 2012 – Jul. 2016
४. चौथो बुल– Nov. 2019 – Aug. 2021  

नेपालमा बियर मार्केटको इतिहास :

१. पहिलो बियर – Dec. 2000 – Mar. 2004  
२. दोस्रो बियर – Sep. 2008 – Feb. 2012 
३. तेस्रो बियर –Aug. 2016 – Oct. 2019  
४. चौथो बियर – Sep. 2021 – 2023

यी तथ्यहरूले बजार सधैँ एउटै दिशामा नचल्ने र चक्रमा चल्ने स्पष्ट रुपमा देखाएको छ।

यी हुन् लगानीकर्ताले बुल बजारमा गर्ने प्रमुख गल्तीहरू

  • ‘अब त झन् बढ्छ’ भन्ने सोच : बजार निरन्तर बढ्दा लगानीकर्ताले बजार कहिल्यै नघट्ने भ्रम पाल्छन्। तर जस्तै सगरमाथाको चुचुरोमा कोही स्थायी बस्न सक्दैन, बजार पनि सधैं उकालो लाग्दैन। बजारले पनि तल झर्नुपर्ने हुन्छ।
  • ‘तल जाँदा बेच्ने, माथि जाँदा किन्ने’ : अनुभवहीन लगानीकर्ताले अफवाहको भरमा किनबेच गर्दा नाफा गुमाउने र घाटामा फस्ने जोखिम हुन्छ। उनीहरु बजारका विविध प्रभाव पार्ने तत्वको विश्लेषण भन्दा पनि ‘तल जाँदा बेच्ने, माथि जाँदा किन्ने’ भन्ने सिद्धान्तमा अन्धाधुन्ध कारोबार गर्छन।
  • बजार छुट्ला भन्ने डरले लगानीकर्ताले जुनसुकै मूल्यमा शेयर किन्छन्, जसले पछि ठूलो घाटा गराउन सक्छ।
  • सबै शेयर बढ्छ भन्ने भ्रम : बुल बजारमा कमजोर कम्पनीको शेयर पनि बढ्न सक्छ, तर दीर्घकालमा ती पुनः आफ्नो वास्तविक मूल्यमा फर्किन्छन्। त्यसैले कम्पनीको अवस्था नबुझी शेयर बढ्छ भन्ने भ्रम पाल्नु उपयुक्त नहुन सक्छ।
  • सूचना पासो : सामाजिक सञ्जाल, हल्ला र भ्रामक सूचनाले लगानीकर्तालाई गलत निर्णय लिन बाध्य बनाउँछ।
  • भीडको पछाडि लाग्ने प्रवृत्ति : अरूले कमाएको देखेर मात्रै बजारमा प्रवेश गर्नु सबैभन्दा ठूलो जोखिम हो।

सेयर बजारमा लगानी गर्दा कस्ता रणनीति अपनाउन सकिन्छ ?

बजार बुल होस् वा बियर, सही रणनीति अपनाउनु नै सेयर बजारमा सफलताको मुख्य आधार हो। जसका लागि निम्न रणनीति अपनाउन सकिने विज्ञहरु बताउँछन्।

१. दीर्घकालीन सोच : सेयर बजारमा राम्रो कम्पनीको शेयर किनेर लामो समयसम्म होल्ड गर्नु सुरक्षित रणनीति मानिन्छ। यसका लागि कम्पनीको आधारभूत अवस्था राम्रो हुनु आवश्यक छ।

२. विविधीकरण : विज्ञहरुका अनुसार एकै कम्पनी वा सेक्टरमा मात्र लगानी नगरी विभिन्न क्षेत्रमा लगानी गर्नु जोखिम कम गर्ने उत्तम उपाय हो।

३. बुल मार्केटमा तीव्र वृद्धि भइरहेका कम्पनी र क्षेत्र पहिचान गरेर लगानी गर्नु लाभदायक हुन सक्छ।

४. रिट्रेसमेन्टमा खरिद : बजार सधैं सीधै उकालो लाग्दैन। बीचमा सानो गिरावट आउँदा त्यही बेला राम्रो अवसर हुन सक्छ।

५. जोखिम व्यवस्थापन : आफूलाई निकट भविष्यमा आवश्यक पर्ने पैसा सेयर बजारमा लगानी नगर्नु बुद्धिमानी हुन्छ।

६. सूचना विश्लेषण गरेर मात्र निर्णय : कुनै पनि सूचना सत्य हो कि होइन भन्ने जाँच गरेर मात्र लगानी निर्णय लिनुपर्छ।

बुल र बियर दुवैमा अवसर

धेरैले बियर मार्केटलाई केवल नोक्सानीको समय मान्छन्, तर यो पनि अवसर हुन सक्छ। मूल्य घट्दा राम्रो कम्पनीको शेयर सस्तोमा किन्न सकिन्छ। त्यस्तै, बुल मार्केटमा पनि सतर्कता आवश्यक हुन्छ, किनकि अत्यधिक मूल्यमा किन्दा जोखिम बढ्छ।

सेयर बजारमा बुल र बियर केवल बजारको दिशा मात्र होइन, यो लगानीकर्ताको मनोविज्ञान, अर्थतन्त्रको अवस्था र अवसर–जोखिमको संकेत हो। बुल मार्केटमा आशावाद र लोभ बढ्छ भने बियर मार्केटमा डर र निराशा हावी हुन्छ।

सफल लगानीकर्ताले बजारको भावनामा होइन, तथ्य र रणनीतिमा आधारित निर्णय लिन्छन्। बजार सधैं उकालो वा ओरालो मात्र हुँदैन, यो चक्रमा चल्छ। त्यसैले, धैर्य र अध्ययनसहित लगानी गर्नु नै दीर्घकालीन सफलताको मूल मन्त्र हो।