वीरगञ्ज । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको नौ महिनामा विद्युुतीय सवारीसाधन आयात शतप्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षमा दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको हो ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा विद्युतीय सवारीसाधन १०२ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँ बढीको आयात भएको हो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारीसाधन आयात शतप्रतिशतले वृद्धि भएको बताएका छन् । गत आवको नौ महिनामा एक अर्ब ४८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात भएको थियो ।
चालु आवको नौ महिनामा एक अर्ब ४६ करोड रुपैयाँको ४९३ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको छ । गत आवको सोही अवधिमा ४८ करोड रुपैयाँको १७२ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको थियो ।
चालु आवमा ९६ करोड रुपैयाँको सात हजार ३९८ वटा विद्युतीय मोटरसाइकल आयात भएको छ । गत आवको सोही अवधिमा ५५ करोड रुपैयाँको चार हजार २२७ विद्युतीय मोटरसाइकल आयात भएको थियो ।
त्यसैगरी चालु आवको नौ महिनामा ५३ करोड रुपैयाँको चार हजार ६०६ वटा विद्युतीय तीन पाङ्ग्रे सवारीसाधन आयात भएको छ । गत आवको सोही अवधिमा ४५ करोड रुपैयाँको तीन हजार ६१३ वटा विद्युतीय तीन पाङ्गे्र सवारी आयात भएको थियो ।







