वीरगञ्ज । वीरगञ्ज महानगरको मुख्य सडकको केन्द्रविन्दुु निर्धारण गर्ने प्रक्रिया सुरु भएको छ । वीरगञ्जको मुख्य सडकको रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण गर्ने प्रक्रिया सुरु गरिएको हो ।

वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सोमबार बसेको बैठकमा जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय हेटौँडा र नापी कार्यालय पर्साका प्रतिनिधिहरू सहभागी थिए । सो संयुक्त बैठकले सडक विस्तारलाई थप स्पष्ट र प्रभावकारी बनाउन आधिकारिक नक्साअनुसार केन्द्रविन्दु पहिचान गरी सो स्थानमा स्टिलका किल्ला गाड्ने निर्णय गरेको हो ।

यसअघि सडक विस्तारका क्रममा केही संरचना हटाइए पनि सडकको वास्तविक केन्द्रभाग स्पष्ट नभएकाले स्थानीयवासी अन्योलमा परेका थिए ।

आधिकारिक नक्साका आधारमा केन्द्रविन्दु तय गरिने भएकाले सडकको दायाँ–बायाँ बराबर दूरी कायम गर्दै आवश्यक चौडाइ सुनिश्चित गर्न सहज हुनुका साथै यसले विस्तार कार्यलाई थप पारदर्शी र विवादरहित बनाउने विश्वास गरिएको छ ।

नापजाँच कार्यका लागि आवश्यक प्राविधिक तथा भौतिक सामग्री सडक डिभिजन कार्यालय हेटौँडाले उपलब्ध गराएको छ भने नक्सा तथा मापनसम्बन्धी काम नापी कार्यालय पर्साले गरिरहेको छ ।

आज बिहानदेखि नै नापजाँच औपचारिक रूपमा सुरु गरिएको छ । यसका लागि सडक डिभिजन कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र वीरगञ्ज महानगरपालिकाको संयुक्त कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले नापजाँचदेखि कार्यान्वयनसम्मका सम्पूर्ण चरणमा समन्वय गर्नेछ ।