काठमाडौँ । मोदी इनर्जी लिमिटेडको घाटा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म केही घटेको देखिएको छ। वित्तीय खर्चमा आएको कमीले कम्पनीको समग्र घाटा घट्न मद्दत पुगेको हो।
सार्वजनिक प्रतिवेदनअनुसार समीक्षा अवधिसम्म कम्पनी ६ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने घाटा ७ करोड ४५ लाख रुपैयाँ पुगेको थियो।
कम्पनीले विद्युत बिक्रीबाट ३४ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन गत वर्षको तुलनामा १३.४४ प्रतिशतले कम हो।
यस्तै, प्रशासनिक तथा बिक्री–वितरण खर्च भने केही बढेको छ। कम्पनीले यस्तो शीर्षकमा १९ लाख ८९ हजार रुपैयाँ खर्च गरेको छ, जबकि अघिल्लो वर्ष सो खर्च १९ लाख ८३ हजार रुपैयाँ थियो।
वित्तीय खर्चमा भने उल्लेखनीय गिरावट आएको छ। अघिल्लो वर्ष २२ करोड ४९ लाख रुपैयाँ रहेको यस्तो खर्च घटेर १६ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ।
सञ्चालनतर्फ कम्पनीले ३० करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ। तर, कम्पनीको सञ्चित नाफा (रिजर्भ) १ अर्ब १९ करोड रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३.११ रुपैयाँले नकारात्मक रहेको छ। प्रतिसेयर नेटवर्थ ५८ रुपैयाँ ६२ पैसा, तरलता अनुपात ०.६४ प्रतिशत र मूल्य–आम्दानी अनुपात ८९.३५ गुणा नकारात्मक देखिएको छ।







