सिरहा । सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरका सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।

नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमावर्ती क्षेत्रमा शनिबार राति विशेष सूचनाको आधारमा गरिएको चेकजाँचका क्रममा उक्त ट्रक पक्राउ गरिएको हो। सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाको नेतृत्वमा खटिएको टोलीले राति करिब ८:४५ बजे ट्रक रोकी जाँच गरेको थियो।

घटनासँग सम्बन्धित रहेको आरोपमा स्थानीय दुई व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा नवराजपुर–५ का करिब ५० वर्षीय राजेशकुमार यादव र ३५ वर्षीय आनन्द यादव रहेका छन्।

प्रहरीका अनुसार नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको स.१ ख ५३५ नम्बरको ट्रकमा कस्मेटिक सामग्री, मन्जन (टुथपेस्ट) र ओखरलगायतका सामान फेला परेको छ।

बरामद गरिएको सामान र ट्रकको कुल मूल्य करिब ४० लाख रुपैयाँ रहेको बताइएको छ। उक्त सामान तथा सवारी साधनलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन भन्सार कार्यालय माडर पठाउने तयारी गरिएको छ।