काठमाडौं । श्रीलङ्काले नेपालसहित ४० देशका नागरिकका लागि ३० दिन अवधिको नि:शुल्क पर्यटक भिसा सुविधा लागू गरेको छ। सन् २०२६ मे २५ देखि कार्यान्वयनमा आएको यो नयाँ व्यवस्था श्रीलङ्काको अध्यागमन विभागले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।

श्रीलङ्का अध्यागमन विभागका अनुसार अब ती देशका नागरिकले श्रीलङ्का भ्रमण गर्दा भिसा शुल्क तिर्नु नपर्ने भए पनि यात्रा अघि अनलाइनमार्फत इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन (ईटीए) अनिवार्य रूपमा लिनुपर्नेछ।

काठमाडौंस्थित श्रीलङ्का दूतावास काठमाडौंले जारी गरेको जानकारीअनुसार ईटीए स्वीकृति लिएपछि मात्र यात्रुहरूले प्रवेश अनुमति पाउनेछन्।

नयाँ व्यवस्थाअनुसार पर्यटकले पहिलो प्रवेश मितिबाट ३० दिनभित्र दुई पटकसम्म श्रीलङ्का प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ। कूटनीतिक, सरकारी तथा सामान्य सबै प्रकारका राहदानीधारीहरू यो सुविधाका लागि योग्य हुनेछन्।

३० दिनभन्दा बढी बस्न चाहने यात्रुले भने नियमअनुसार अतिरिक्त शुल्क तिरेर भिसा अवधि थप गर्न सक्नेछन्। त्यस्तै, मे २५, २०२६ अघि ईटीए शुल्क तिरिसकेका आवेदकलाई रकम फिर्ता नहुने पनि सूचनामा स्पष्ट पारिएको छ।

यस सुविधामा नेपालसहित भारत, अमेरिका, बेलायत, चीन, जापान, अष्ट्रेलिया, मलेसिया लगायत ४० देश समावेश छन्। माल्दिभ्सका नागरिकका लागि भने छुट्टै व्यवस्था अन्तर्गत ९० दिनको नि:शुल्क भिसा सुविधा उपलब्ध हुनेछ।