काठमाडौं । आर्थिक सर्वेक्षण २०८२/८३ ले नेपालमा आउने पर्यटकहरूको प्राथमिक उद्देश्यबारे विस्तृत तथ्यांक सार्वजनिक गरेको छ। सर्वेक्षण अनुसार नेपाल भ्रमणमा आउने अधिकांश पर्यटक मनोरञ्जन र सांस्कृतिक अनुभवका लागि आउने गरेका छन्।

कुल पर्यटकमध्ये ६०.२ प्रतिशत मनोरञ्जनका लागि, १४.४ प्रतिशत धार्मिक वा तीर्थयात्राका लागि र १४.२ प्रतिशत पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल आएको तथ्यांकमा उल्लेख छ। बाँकी ११.२ प्रतिशत पर्यटक व्यापार, अध्ययन तथा अन्य उद्देश्यले नेपाल प्रवेश गरेका छन्।

सन् २०२५ मा मात्र २,५९० आरोहण दलका ९,८२० पर्वतारोहीहरूले हिमाल आरोहण गरेका छन्, जसबाट सरकारलाई १ अर्ब २६ करोड २६ लाख रुपैयाँ रोयल्टी प्राप्त भएको छ।

हवाई सेवातर्फ हाल नेपालमा ५ नेपाली र २७ विदेशी गरी ३२ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नियमित उडान गरिरहेका छन्। देशभर ३५ विमानस्थल सञ्चालनमा छन् भने नेपालले ४२ देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरिसकेको छ।

प्रदेशगत पर्यटन पूर्वाधार र सेवाको वितरणमा बागमती प्रदेश ३६.७ प्रतिशत हिस्सासहित अग्रस्थानमा रहेको छ भने कर्णाली प्रदेश ४.२ प्रतिशत मात्र हिस्सासहित सबैभन्दा पछाडि रहेको छ।