पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने राइड सेयरिङ सवारी साधनका लागि नयाँ भाडादर निर्धारण गरेको छ । दुई पांग्रे र चार पांग्रे सवारीका लागि छुट्टाछुट्टै दर तोकिएको हो ।

मन्त्रिपरिषद् बैठकबाट राइड सेयरिङसम्बन्धी नियमावली पारित गरी कार्यान्वयनमा ल्याइएपछि भाडादर तय गरिएको हो । यसअघि पारित नियमावली संघीय निर्देशन र यातायात व्यवसायीको विरोधका कारण कार्यान्वयनमा आउन सकेको थिएन । अहिले पुनः स्वीकृत भएपछि लागू गरिएको हो ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले निर्धारण गरेको दरअनुसार चार पांग्रे पेट्रोल सवारीको सुरुवाती भाडा ६० रुपैयाँ र प्रति किलोमिटर ४८.५ रुपैयाँ तोकिएको छ । दुई किलोमिटरसम्मको आधार भाडा १५६.५ रुपैयाँ रहनेछ ।

दुई पांग्रे सवारीका लागि सुरुवाती भाडा ३० रुपैयाँ र प्रति किलोमिटर १६.८५ रुपैयाँ कायम गरिएको छ । एक किलोमिटरसम्मको आधार भाडा ४६.८५ रुपैयाँ तोकिएको छ ।

पेट्रोल सवारीमा १० प्रतिशत र विद्युतीय सवारीमा १५ प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरिएको छ । साथै, तोकिएको भाडा र छुट राइड सेयरिङ एपमै अनिवार्य रूपमा देखाउनुपर्ने र अतिरिक्त शुल्क लिन नपाइने सरकारको स्पष्ट निर्देशन छ ।