काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई निलम्वन गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारसँग घिसिङलाई तत्काल निलम्वन गर्न माग गरेका हुन् ।

उनले बिद्युत महसुल असुली गर्न नसकेकाले घिसिङलाई निलम्बन गरी कारबाही गर्न माग गरेका हुन् ।

सुवालले भने, ‘डेडिकेटेड ट्रंक लाइनबाट बिजुली लिएर अर्बौं रुपैयाँ महसुल नबुझाउनेहरुसँग कुन–कुन मन्त्रीको साँठगाँठ छ ? छानबिन गरी कारबाही हुन जरुरी छ ।’

बिजुली महशुल १० अर्बसम्म नउठाउने प्राधिकरणका कुलमान घिसिङलाई तत्काल निलम्वन गरी कारबाही गर्न जरुरी रहेकाे सुवालकाे भनाइ छ ।

साथै उनले निर्वाचन आयोगले तयार पारेको निर्वाचनसम्बन्धी एकीकृत विधेयकको मस्यौदाबाट ३ प्रतिशत मत कटाउन नसक्नेलाई राष्ट्रिय दलको मान्यता नदिने व्यवस्था हटाउनुपर्ने पनि माग गरे ।