काठमाडौं । हरेक वर्ष लगानीकर्तालाई आकर्षक लाभांश वितरण गर्दै आइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको औसत प्रतिफल वितरण दर १३.६५ प्रतिशत देखिएको छ । जुन तुलनात्म रुपमा धेरै राम्रो रहेको जानकारहरु बताउँछन् ।
पछिल्ला वर्षहरुमा बैंकले प्रायः भदौ महिनाको अन्तिम वा असोजको पहिलो साता भित्र लाभांश प्रस्ताव गरेको देखिएको छ । त्यसो त, माछापुच्छ्रे बैंकले गत वर्षको नाफाबाट बोनस सेयर प्रस्ताव पनि गरिसकेको छ । त्यसैले पनि लाभांश सिजन सुरु भएको मान्न सकिन्छ ।
हरेक वर्ष लोभलाग्दो प्रगति गर्दै आइरहेको यस सिटिजन्स बैंकले यसपटक कति प्रतिफल वितरण गर्छ भन्ने सबैको चासोको विषय बनेको छ । तुलनात्मक रुपमा कम बजार मूल्यमा राम्रो वित्तीय अवस्था भएको यो बैंक धेरैको रोजाइमा पर्ने गरेको हो ।
मंगलबारको अन्तिम कारोबार अनुसार यसको सेयर मूल्य प्रतिकित्ता १८३ रुपैयाँ ५० पैसा रहेको छ । गत महिनादेखि यसको मूल्य १८० देखि १९० रुपैयाँको बीचमा चलिरहेको छ । अर्थात, लगानीकर्ताले यसलाई कममा बिक्री गर्न चाहेका छैनन् । यस बैंकको वित्तीय अवस्था र लगानीकर्तालाई दिने रिटर्न निकै राम्रो रहेकोले भाउ तल नझरेको जानकारहरु बताउँछन् ।
सिटिजन्सले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट अनुसार यसको लाभांश क्षमता १ अर्ब ३ करोड ७२ लाख ७६ हजार रुपैयाँ रहेको छ । सो रकमबाट लगानीकर्तालाई यसले ७.३० प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिएको छ ।
यस बैंकले अघिल्लो वर्षको नाफाबाट वर्ष ९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अघिल्लो वर्षको भन्दा वितरणयोग्य नाफामा केही गिरावट आएपनि यस बैंकको नाफामा भने सुधार देखिएको छ ।
सिटिजन्स बैंकको कस्तो छ वित्तीय अवस्था ?
गत वर्षको अन्तिम त्रैमासमा बैंकले २ अर्ब २१ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको भन्दा १०.४१ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यस बैकले २ अर्ब ५६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिसम्म ५ अर्ब ८५ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो वर्षको भन्दा १७.३० प्रतिशतले धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा यस बैंकले ४ अर्ब ९९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यसका साथै, सञ्चालन नाफा पनि २ अर्ब ७० करोड ९२ लाखबाट बढेर ३ अर्ब ७२ करोड २७ लाख पुगेको छ । यसको इम्पेयरमेन्ट चार्ज भने ५५ करोड २४ लाख रुपैयाँबाट बढेर ७३ करोड ३ लाख रुपैयाँ पुगेको छ । खराब कर्जादर बढेको कारण यस बैंकको उक्त चार्ज बढ्न पुगेको हो ।
सिटिजन्सको प्रतिसेयर आम्दानी पनि १४ रुपैयाँ १२ पैसाबाट बढेर १५ रुपैयाँ ५९ पैसा पुगेको छ । नेटवर्थ १५० रुपैयाँ ८ पैसा कायम भएको छ । चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको यस बैंकको जगेडा कोषको आकार भने ६ अर्ब ७ करोड ४७ लाख ९५ हजार रहेको छ । अघिल्लो वर्ष ४ अर्ब ८४ करोड ९२ लाख रुपैयाँ थियो ।
एनपीएल २.२२ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ । जुन तुलनात्मक रुपमा अरु बैंकहरुको भन्दा कम हो । यस बैंकले १ खर्ब ६८ अर्ब ८४ करोड २१ लाख निक्षेप संकलन गरेर १ खर्ब ४० अर्ब ४० करोड १५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ ।
सिटिजन्सले पछिल्ला वर्षहरुमा वितरण गरेको लाभांश कति छ ?यस बैंकले अघिल्लो वर्षको नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यसले आर्थिक वर्ष २०६७–६८ देखि लगातार लाभांश बाड्दै आइरहेको छ । त्यस वर्ष यसले बोनस र नगद गरी कुल १०.५३ प्रतिशत प्रतिफल वितरण गरेको थियो ।
बैंकले आर्थिक वर्ष २०७१–७२ को नाफाबाट लगानीकर्तालाई सबै भन्दा धेरै २१.०५ प्रतिशत प्रतिफल वितरण गरेको देखिएको छ । सिटिजन्सले अधिकांश वर्ष सेयरधनीलाई डबल डिजिट लाभांश दिंदै आएको छ ।







