काठमाडौँ । ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग–२०८०’ का अध्यक्ष डिल्लीराज आचार्यले सुन तस्करी प्रकरणमा मुछिएकाकाे जाँचबुझ कार्यका लागि आफूहरू आन्तरिक कार्यविधि निर्माण गर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्ताे बताएका हुन् ।

उनले भने, ‘हामी आन्तरिक कार्यविधि निर्माण गर्छौँ । हामीलाई सुन तस्करीको छानबिनको क्रममा बयानमा बोलाउँदा मान्छे नआएको अवस्थामा पक्राउ गर्ने अधिकार समेत छ, अदालतलाई जे अधिकार हुन्छ, हामीलाई पनि त्यो अधिकार छ ।’

सुन तस्करी प्रकरणमा मुछिएकालाई बयानमा बोलाउन उपस्थित नभएमा आयोगलाई पक्राउको अधिकार भएको बताए ।आचार्यले अदालतलाई जे अधिकार छ, आयोगलाई पनि उस्तै अधिकार भएको बताए ।

आचार्यले सुन तस्करी प्रकरणको जाँचबुझ गर्दा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रतिवेदनलाई स्रोत सामग्रीको रूपमा लिएर काम गर्ने बताए । यस्तै न्यायिक र अर्धन्यायिक नियकालले गरेको आदेश र फैसलालाई अध्ययन गर्ने भन्दै उनले तोकिएको समयमा प्रतिवेदन तयार गरेर सरकारलाई हस्तान्तरण गर्ने बताए ।