काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराले बयानको क्रममा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

बिहीबार सरकारी वकिल कार्यालयमा भएको बयानमा महराले सुन तस्करीमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेका महरालाई हिजो पनि बयान लिइएको थियो।

सरकारी वकिलको कार्यालयका एक अधिकृतले एक चरणको बयानको काम सकिएको र अब थप आवश्यक प्रक्रिया सीआईबीले अघि बढाउने बताएका छन्। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरा यही चैत ५ गते कपिलवस्तुको पकडी बाट पक्राउ परेका थिए। महरालाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको छ।

अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ। गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उनको नाम जोडिएको छ।