काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न समिति गठन भएको छ । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
उक्त समितिमा अर्थसचिव डा. कृष्णहरी पुस्कर र शंकरदेव क्याम्पसका उपप्राध्यापक उदय निरौला सदस्य छन् । निरौला विज्ञका रुपमा समितिको नियुक्त गरिएको हो ।
धितोपत्र बोर्डको बागडोर अब कसले समाल्ला ? यी हुन् अध्यक्षका सम्भावित दावेदार
धितोपत्र बोर्ड ऐनको दफा ७ बमोजिम उक्त समिति गठन भएको हो । समितिले कार्यविधि बनाइ विज्ञापन प्रकाशित गर्नेछ । र, आवेदन दिनेमध्येहरुबाट ३ जना छनोट गरी सरकारलाई सिफारिस गर्नेछ । अर्थमन्त्रीको प्रस्तावमा उक्त सिफारिसमा परेका ३ जनामध्ये १ जनालाई मन्त्रीपरिषदले बोर्डको अध्यक्ष नियुक्ति गर्नेछ ।
गत पुस २० गते रमेश हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त छ ।







