काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाका लागि एशियाली विकास बैंकले २ अर्ब अनुदान दिएको छ ।

२०७८ सालको बाढी पहिरोले आयोजनाको हेड बक्समा ठुलो क्षति पुर्‍याएकाले हेडबक्स निर्माणका लागि एडिबीले २ अर्ब बढी रुपैयाँ अनुदान दिएको खानेपानी मन्त्रालयले जनाएको छ।

बाढीसँगै बगेर आएका गेग्रान र ढुंगाहरुले हेडबक्सका सम्पूर्ण संरचना पुरिदिएपछि झन्डै १ हजार मिटर माथि हेडबक्स बनाउने तयारी भइरहेको बेला एडिबीले २ अर्ब भन्दा बढी नेपाली रुपैयाँ अनुदानमा उपलब्ध गराएको हो ।

२ वर्ष अघिदेखि नै एडिबीले हेडबक्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको भएपनि मन्त्रीपरिषद्को बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो । सरकारले सहमति जनाएसँगै आयोजनाले हेडबक्स सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ ।