काठमाडौं । चालू वर्षको ११ महिनामा आयात १.८ प्रतिशतले र निर्यात ३ प्रतिशतले घटेको छ ।नेपाल राष्ट्र बैंकले चालू वर्षको ११ महिनामा आयात र निर्यात नै घटेको जनाएको छ । तथ्यांकअनुसार कूल वस्तु निर्यात ३ प्रतिशतले घटेर १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा नेपालको निर्यात २२.७ प्रतिशलते घटेको थियो ।

यस अवधिमा भारततर्फको निर्यातमा ४.५ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ५७.७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी,अन्य मुलुकतर्फको निर्यातमा १.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पिना,जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक,लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल,सोयाविन तेल, ऊनी गलैचा, ब्रान्स, चिया लगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै ,यस अवधिमा रु.१४ खर्ब ५३ अर्ब ७० करोड बराबरको वस्तु आयात भएको छ । जुन गत वार्थिक बर्षको यसै अवधिको भन्दा १.८ प्रतिशतले कम हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६.० प्रतिशतले कमी आएको थियो ।

समिक्षा अवधिमा कुल वस्तु आयात १.८ प्रतिशतले घटेर रु.१४ खर्ब ५३ अर्ब ७० करोड कायम भएको छ । यस अवधिमा भारतबाट भएको आयात ३.१ प्रतिशतले घटेकोमा चीनबाट भएको आयात ३४.८ प्रतिशतले बढेको छ ।

अन्य मुलुकबाट भएको आयात २० प्रतिशतले कमि भएको छ । वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, विद्युत्तीय उपकरण, हवाइजहाजको स्पेयर पार्टपुर्जा, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घट्न पुगेको छ ।

आर्थिक वर्ष २०८०र८१ को एघार महिनामा कुल वस्तु व्यापार घाटा १.७ प्रतिशतले कमी आई रु.१३१४ अर्ब ४४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो ।