काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा हुन गएको जग्गा कानुन बमोजिम लागत कट्टा गर्नका लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकिएको बताएका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले लामो स्टाट्स लेख्दै उक्त कुराको जानकारी दिएक हुन् । उनले टुकुचा खोलामाथि अझै केही घरहरु रहेको बताउँदै सरकारले चाँडोभन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्
गएराति काठमाडौँ प्लाजा नजिकको टुकुचा खोलामाथिको सडकमा भ्वाङ परेपछि सो सडकमा सवारी साधनको आवातजावत रोकिएको छ ।
यस्तो छ उनको स्टाट्स
‘यो टुकुचामाथिको बाटो हो । अझै केहि घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । ‘काठमाडौँ महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम सुरू गरेका थियौँ । अदालती कारणले केहि रोकिन परेको थियो । अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ ।
सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ । यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।’








