काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जस अनुसार एक वर्षको अवधिमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
आव २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा १६.५ प्रतिशत धेरै हो । नेपाल राष्ट्र बैंकको यो आँकडा अनुसार यस आवमा मासिक १ खर्ब २० अर्ब रुपैयाँले रेमिट्यान्स भित्रिएको छ ।
आव २०७९/८० मा रेमिट्यान्स २३.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स यस वर्ष १० अर्ब ८६ करोड भित्रिएको छ। यो गत आवको तुलनामा १४.५ प्रतिशत धेरै हो। अघिल्लो आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशत धेरै भित्रिएको थियो।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या केही कम भए पनि रेमिट्यान्स आप्रवाहले भने कीर्तिमान बनाएको हो। एक वर्षमा नयाँ अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ४ लाख ६० हजार १०३ रहेको छ ।
यस अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ८१ हजार १९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएको तथ्याकंमा उल्लेख छ ।







