काठमाडौँ। भ्रष्टाचारको कसुरमा उजुरी अनुसन्धान गर्न ५ वर्षे हदम्याद हटाउन सरकार तयार रहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
आज शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा आफ्नो धारणा राख्दै भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा ५ वर्षे हदम्याद नराखी पुरानै व्यवस्था राख्न आग्रह गरेका हुन् ।
भ्रष्टाचारीलाई कुन विधि अनुसार कारबाही वा सजाय गर्ने हो त्यसबारे आवश्यकता अनुसार टुङ्गो लगाउन लेखकले समितिलाई आग्रह गरे । मन्त्री लेखकले भने, ”भ्रष्टाचार ५ वर्षे हदम्याद हटाइदिऊँ, पहिलेकै व्यवस्था राखौँ । भ्रष्टाचारका मुद्दामा जैलेसुकै मुद्दा चलाउन सकिन्छ । यो सरकारको आग्रह छ, सरकार यो प्रावधान हटाउन तयार छ । जैलेसुकै मुद्दा चलाउने सुनिश्चितता गरौँ । समितिका सदस्यहरूको धारणा अनुसार सरकार चल्न तयार छ ।”
यसअघि विधेयकमा भ्रष्टाचारका मुद्दा चलाउन ५ वर्षे हदम्याद राखेपछि चौतर्फी विरोध भएको थियो ।
सरकारले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक २०७५ सालमा संसद्मा दर्ता गरेको थियो ।







