काठमाडौँ । गृहमन्त्री रमेश लेखकले शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउन सरकार निरन्तर क्रियाशील रहेको बताएका छन्। शुक्लाफाँटा नगरपालिका–१० झलारीमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि नेपाली कांग्रेस र नेकपा ९एमाले० बिच समीकरण बनाइ स्थिर सरकार गठन भएको उनले स्मरण गराएका छन् । सरकार अस्थिर हुँदा नयाँ समीकरण बन्ने भत्किने अवस्था थियो, उनले भने, ‘सेवाप्रवाह ठिक ढङ्गले हुन सकेन, विकास निर्माणसँगै सुशासन अगाडि बढ्न पाएका थिएनन्।” सात बुँदे सहमतिको जगमा बनेको सरकारले देशमा भ्रष्ट्राचार नियमन गरी सुशासनको प्रत्याभूति दिने र दिगो शान्ति सुरक्षा प्रदान गर्न कटिबद्ध भएर अगाडि बढ्ने उनको भनाइ छ।

संविधानको कार्यान्वयन ठिक ढङ्गले गर्न आगामी निर्वाचनसम्म सत्ता समीकरण रहिरहने लेखकको भनाई छ । १८ वर्षदेखि थाती रहेको सङ्क्रमणकालीन न्यायको काम नयाँ गठबन्धनको स्थिर सरकार बनेपछि टुङ्गोमा पुगेको गृहमन्त्रीको भनाई छ। जसले गर्दा सरकारप्रति जनतामा विश्वास बढेको उनको दाबी रहेको छ ।

कञ्चनपुरलाई भारत, नेपाल, चीनबिचको त्रिदेशीय नाकाको रूपमा विकसित गरिने गृहमन्त्री लेखकले बताए। दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणसँगै महाकाली कोरिडोर निर्माणलाई तीव्र रूपमा अगाडि बढाइने उनले  उल्लेख गरे। त्रिदेशीय नाका बनाएर यहाँ उत्पादित वस्तुलाई निर्यात गर्न दैजी छेला औद्योगिक क्षेत्रमा उद्योग स्थापना गरिने उनले जानकारी दिए। भूमिसम्बन्धी आयोग गठनको कार्य अन्तिम चरणमा रहेको उनले बताए।

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न योजनाबद्ध रूपमा अगाडि बढेको उनको भनाइ छ। लागू औषधको समस्या चुनौतीका रूपमा रहेकाले उहाँले भारतीय विदेश सचिवसँगको भेटमा सीमापार क्षेत्रबाट हुने लागू औषध ओसारपसार रोक्न जोडदार रूपमा मुद्दा उठाएको बताए।

भारतीय विदेश सचिवले दुवै क्षेत्रमा लागू औषध रोकथामका लागि कडाइ गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए। वर्षौँदेखि थाती रहेको निकुञ्ज विस्थापित परिवारको पुनः स्थापना अगाडि बढाउने प्रतिबद्धता जनाए।