काठमाडौँ । यस वर्षको दशैंका लागि नेपाल राष्ट्र बैंकले आज आइतबारका दिनदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्ने भएको छ।

केन्द्रीय बैंकका अनुसार दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने छ। प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

हरेक वर्ष दशैंका लागि नयाँ नोट बाँड्दै आएको राष्ट्र बैंकले यसपालि नयाँ नोटको साटो सुकिला नोट मात्रै उपलब्ध गराउन लागेको हो । यस पटक राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय कै हाराहारीमा नोट सहटी गर्न मिल्ने व्यवस्था गर्दै छ।

यसका साथै, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ। ग्राहकले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ।