काठमाडौं । हिन्दु धर्मावलम्वीहरुले खास गरी विभिन्न ९ ओटा देवीको पुजाआरधना गरेर दसैँ मनाउने गर्दछन् । दसैँको समयमा धेरै दिन बिदा हुनेभएकोले पनि धेरै जसो मानिसहरू धार्मिक पर्यटनमा पनि जाने गर्दछन् । जसले गर्दा मानिसमा सकारात्मक ऊर्जा प्राप्त हुनुका साथै मनमा आनन्दको समेत अनुभूति हुने गर्दछ ।

त्यसकारण आज हामी तपाइहरुलाई दसैँमा घुम्न वा दर्शन गर्नका लागि उपय’m हुने केही देवी मन्दिरका बारेमा जानकारी दिँदै छौँ ।

१. पाथीभरा देवी 

पाथीभरा मन्दिर हिन्दु एवं बौद्धहरूको महत्त्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । यो मन्दिरमा वर्षभरि नै श्रद्धालुको भिड लाग्छ । तथापि दसैँमा यहाँ श्रद्धालुको विशेष भिड हुन्छ ।

२. माईपोखरी 

नवरात्रमा नौकुने पोखरीका नौवटै कुनामा दुर्गाको नौ स्वरूपका रूपमा पूजा गरिने माईपोखरी इलाम जिल्लाको उत्तरी क्षेत्रमा पर्छ । जसअन्तर्गत यहाँ दुर्गा भवानीको पूजा गरिन्छ । हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म माईपोखरीमा मण्डप बनाई ब्राह्मणहरूद्वारा सप्तशती पाठ गरिन्छ ।

३. छिन्नमस्ता 

सप्तरी जिल्लाको राजविराजबाट १२ किलोमिटर दक्षिणमा रहेको छिन्नमस्ता भगवती मनोकामना पुरा गर्ने शक्तिपीठका रुपमा चर्चित छ । नेपाल, भारत र बङ्गलादेशका हिन्दुको समेत आस्थाको केन्द्र मानिने छिन्नमस्तामा दशैंंका बेला हजारौँ सङ्ख्यामा पशु बलि दिइन्छ ।

४. गुह्येश्वरी 

काठमाडौंमा अवस्थित गुह्येश्वरी श्री स्वस्थानी अनुसार महादेव पत्नी सतीदेवीको गुह्य पतन भएर उत्पत्ति भएको मानिन्छ । गुह्येश्वरीमा दशैंंका बेला घटस्थापनादेखि नै पूजाआजा हुने गर्दछ भने पौष शुक्ल पूर्णिमादेखि एक महिनासम्म स्वस्थानी व्रतको बेला घुइँचो लाग्दछ ।

५. दक्षिणकाली 

काठमाडौँबाट केही किलोमिटरको दुरीमा रहेको दक्षिणकाली मन्दिरमा विशेष देवी कालीको पूजाआजा हुने गर्दछ । दक्षिणकाली दशैंंको नवरात्रीका बेला पशुबली दिएर मनोबाञ्छित फल माग्ने गरिन्छ ।

६. भद्रकाली 

दशैंंमा आर्शिवाद दिदा भन्ने गरिएको श्लोकमा उच्चारित देवी दुर्गाको एक रूप भद्रकाली हो । काठमाडौंको माइतीघर र सुन्धाराको मध्यमा रहेको भद्रकाली मन्दिरमा नवरात्रमा विशेष पूजा हुने गर्दछ ।

७. मनकामना 

गोरखामा अवस्थित मनोकामनामा पूजाआजा वा दर्शन गरेमा सम्पूर्ण मनोकामना पूर्ण हुने विश्वास रहँदै आएको छ । केबुलकारबाट केही मिनेटमा नै पुग्न सकिने मनोकामना पैदल जान चाहे आबुखैरेनीबाट ५ घण्टा उकालो हिँडेर पुग्न सकिन्छ । प्रत्येक अष्टमीमा बलि चढाइने मनोकामनामा दशैंंंका बेला ठुलो भीड लाग्ने गर्दछ ।

८. त्रिपुरा सुन्दरी 

डोल्पा जिल्लाको जुफाल जुफाल बिमानस्थलबाट करिब दुई घण्टा पैदल हिँडेपछि भेरी नदीको किनारमा प्रसिद्ध त्रिपुरासुन्दरीको मन्दिर छ । यहाँ बडादशैंं र चैतेदशैंमा ठुलो मेला लाग्ने गर्दछ । यो मन्दिरमा पञ्चबलि दिने चलन छ ।

९. देवीस्थान भगवती

बागलुङ बजारबाट २ किलोमिटर दक्षिणस्थित देवीस्थान मन्दिर राजा प्रतापनारायण मल्लकी रानीले पाल्पाबाट मूर्ति ल्याएर स्थापना गरेकी हुन् । यो मन्दिरमा दशैंंं तथा चैते अष्टमीका दिन यहाँ बढी भक्तजन आउने गर्दछन् ।

१०. उग्रतारा 

डडेलधुराको अमरगढी नगरपालिका वडा नं. ७ र ८ को सिमानामा दशरथ चन्द राजमार्गसँग जोडिएको सुन्दर डाँडामा कलात्मक शैलीमा बनाइएको महाशक्तिपीठ उग्रतारा मन्दिर छ । यो डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर दुरीमा छ । दशैंतिहारको खाली समयलाई सदुपयोग गर्नका लागि यो मन्दिरको दर्शन गर्नु पनि तपाईँको लागि फाइदाजनक हुनसक्छ ।

११. निगंलाशैनी मन्दिर

यो भगवती मन्दिर पनि बैतडीमा रहेको छ । दशरथचन्द राजमार्गमै पर्ने यो मन्दिर दशरथचन्द नगरपालिका–२, देहीमाण्डौमा अवस्थित छ । यो मन्दिरमा दसैँको अष्टमी, चैतेदसैमा राँगा, बोकाको बलि दिने चलन छ ।  मन्दिरमा बर्सेनि सयौँ राँगा, बोकाको बलि दिने गरिन्छ ।

१२. डिलाशैनी भगवती

डिलाशैनी भगवतीको मन्दिर पनि बैतडीमा रहेको छ । दसैँका अवसरमा यो मन्दिरमा भव्य मेला लाग्ने गरेको छ । मन्दिर दर्शनको लागि हजारौँ सर्वसाधारण आउने गर्छन् भने मन्दिरमा राँगा बोकाको बलि दिने गरिन्छ । भारतसँग सीमा जोडिएको यो क्षेत्रमा पूजापाठका लागि हजारौँ भारतीय नागरिक आउने गर्छन् ।